Free Essay

अमेरिकी 'ग्रिनकार्ड' सपना

In:

Submitted By mygalsnigdha
Words 2312
Pages 10
तनहुँका मोहन गुरुङ (नाम परिवर्तन), ३२, ले घर छोडेको झण्डै छ महिना भयो। नेपालबाट सँगै हिडेका अन्य चार जना साथी मध्ये तीन सहित अहिले उनी मध्य अमेरिकी राष्ट्र ग्वाटेमाला पुगेका छन् , मेक्सिको सिमाना नजिक। उनीहरु सबै तनहुँको एउटै गाविसका। सँगै गएका एक जना साथी भने ब्राजिलमै छुटे।
मातृभूमी नेपाल सहित १३ राष्ट्र टेके उनले ग्वाटेमाल पुग्दा। अमेरिका पुग्ने, धन कमाउने - उनको सपना। अब मात्र एक देश छिचोल्नु छ - मेक्सिको। अनि बल्ल पुगिन्छ सपनाको देश अमेरिका।
'घर सल्लाह गरेर अमेरिका जान हिंडेको,' ग्वाटेमालाबाट स्काइपमा कुरागर्दा मोहने भने, 'अब गन्तव्य टाढा छैन। क्रिसमस र नयाँबर्ष २०१३ सकिएपछि मेक्सिको, त्यसपछि अमेरिका।'
ब्राजिलबाट ग्वाटेमालपुग्दा दिन-रात, घाम-पानी, थकाई-निन्द्रा केही भन्न पाईदैन। जतिबेला दलाललाई समय अनूकुल लाग्छ हिड्नु पर्छ। कहिले बस त कहिले कारमा। कहिले काहीं ट्रकमा। जंगलै जंगलै पैदल पनि हिड्नु पर्छ। गोडा दुःखे भन्न पाइदैन। ठूला खोला तर्नुपर्छ। जे भेटिन्छ खाने त्यही हो। यो त्यो भनि रोज्न पाइदैन। अपहरण, लुटिने, बलात्कारको शिकार - सबै बाटोमा हुन्छ। यि सबै अफ्ठेरोसँग लुकामारी खेल्दै अमेरिका पुग्नुपर्छ।
उनीहरुसँग राहदानी मात्र होइन, आफ्नो परिचय खुल्ने कुनै पनि कागजात साथमा छैन। सबैले राहदानी बोलिभियामै च्यातेर फ्याँकेका। यो मार्गबाट अमेरिका छिर्दाको नियम नै हो राहदानी च्यातेर फ्याक्ने। नफ्याके अमेरिका जान पाइदैन। राहदानी र भीसाबीना अमेरिका छिर्न पाइन्छ। बीच बाटोमा कुनै दुर्घटनामा परी मृत्यु भए- को मर्यो पत्तो हुँदैन। नेपालमा रहेका परिवारले थाहा पाउने त झन् कुनै भएन।
मोहन ग्वाटेमाला पुगेको तीन साता भयो। नेपालबाट पैसा आइनपुगेकोले मेक्सिको छिर्न ढिलाई भएको रे। उनीसँगै ग्वाटेमाला आइपुगेका अन्य केही साथी अमेरिका पुगिसके। अब उनलाई ६ हजार अमेरिकी डलर (झण्डै साढे पाँच लाख रुपैयाँ)को खाँचो छ। नेपालबाट परिवारले हुण्डी मार्फत उत्त रकम पठाउना साथ उनी मेक्सिकोहुँदै अमेरिका पुग्नेछन्।
मोहन र उनका तीन जना साथी अहिले ग्वाटेमालामा सानोतिनो व्यापार गर्दै आएका पर्वतका दिपक राज शर्मा, २७, को कोठमा छन्। दिपकको बोलिभियामा पनि व्यापार छ। उनले बोलिभियामा 'सि-नेट मनिग्राम' कम्पनी खोलेका छन्। उनकै शब्दमा उनी सिनेट मार्फत आयात/निर्यातको काम गर्छन्, खासगरी सिंगापुर र थाइल्याण्डमा। मामाले ग्वाटेमालामा सपिङ कम्प्लेक्स किनेपछि दिपक दुई महिना अघि त्यहाँ पुगेका हुन्। उनी बोलिभिया-ग्वाटेमाला ओहोरदोहोर गरिरहन्छन्।
'ग्वाटेमालामा एक्कासी नेपाली भेट्दा आफ्नै दाजुभाई भेटेजस्तो लाग्यो,' दीपकले सुनाए, 'पैसा नआइपुगेकोले उहाँहरुलाई समस्या परेको रहेछ। त्यतिन्जेल मैकहाँ बस्नोस् भनेको छु।'
दीपकका अनुसार सन् २०१२ को अप्रिल यता मात्र बोलिभियाबाट ४ सय ८० जना नेपाली अमेरिका जान भनि हिडेका छन् , जसमध्ये ४ सय अमेरिका प्रवेस गरिसकेका छन्। बाँकी ८० जना अहिले बाटोमै छन्। अमेरिका प्रवेस गरिसकेका चार सयमध्ये २ सय २० जना पक्राउ सिमामा पक्राउ नपरी अमेरिका प्रवेस गर्न सफल भएका छन् भने बाँकी एक सय ८० जना पक्राउ परी अध्यागमनलाई धरौटी बुझाई छुटेका छन्।
नेपालबाट ग्वाटेमालासम्म पुग्दा मोहनले बिभिन्न दलाललाई सभा १२ लाख रुपैयाँ बुझाई सके। उनलाई नेपालबाट ब्राजिलसम्म तनहुँ फिरफिरेका दमन गुरुङले लगेका थिए। काठमाडौंबाट कतारको दोहाँहुँदै ब्राजिलसम्म पुर्याुए वापत उनले ५ लाख रुपैयाँ दलाललाई बुझाएका थिए। ब्राजिलबाट ग्वाटेमालापुग्दा उनले थप ८ हजार अमेरिकी डलर (झण्डै सभा सात लाख रुपैयाँ) बिभिन्न दलाललाई बुझाउन पर्योग। अब ६ हजार अमेरिकी लडर दलाललाई बुझाउन बाँकी छ। अमेरिका छिर्दासम्म मोहनले दलाललाई मात्र साढे १७ लाख रुपैयाँ बुझाइसक्ने छन्। अन्य पकेट खर्च यसमा पर्दैन।
दलाललाई एकैचोटी सबै रकम बुझाउन पर्दैन। नेपालबाट ब्राजिल पुग्दासम्म लाग्ने पाँच लाख रुपैयाँ एकमुस्ट रुपमा काठमाडौंमै बुझाउनु पर्छ। त्यसपछि किस्ता किस्तामा पैसा बुझाउने काम बोलिभियाबाट सुरु हुन्छ। बोलिभियाबाट भारतीय एजेन्टले पठाउने गर्छन्। बाटोमा पर्ने हरेक देश प्रवेश गर्नुअघि आधा रकम दलाललाई बुझाउनु पर्छ। दलालले त्यो देशको सिमा कटाई अर्कोदेशको स्थानिय दलाललाई बुझाएपछि बाँकी आधा रकम दिनु पर्छ। अनि दलाल फर्कन्छ र उनीहरु अघि बढ्छन्।
'शुरुमा त डर लागेको थियो। बाटोमा अरु साथी भेटेपछि सबै जाँदा रहेछन् भन्ने लाग्यो र अहिले डर भन्दा पनि कहिले अमेरिका छिरिएला भन्ने उत्साह मनमा छ,' मोहनले सुनाए।
८८८८८
छ महिना अघि आमा-बुबा, श्रीमती र एक छोराका साथ तनहुँमा रहँदा मोहनले कुखुरा पालनमा हात हालेका थिए। उनको पोल्ट्री फार्ममा झण्डै एक हजार कुखरा पुगेका थिए। यसैबिच ब्राजिलहुँदै अमेरिका जान पाउने र ब्राजिलमै पनि राम्रो काम गर्न पाउने खबर केही साथीले फेसबुक मार्फत सुनाए, जो अमेरिका पुगिसकेका थिए। हेर्दाहेर्दै साथीभाई ब्राजिल तर्फ हिड्न थाले। यत्तिकैमा दिलीप गुरुङ नाम गरेका व्यत्तिले ब्राजिल लैजाने काम गर्छन भन्ने थाहा पाए। उनै दिलीपले ब्राजिलसम्म लैजाने ठेक्का लिएपछि मोहन पोल्ट्री फार्मलाई श्रीमतीको जिम्मा लगाउने निर्णयमा पुगे।
'पोल्ट्री फार्मबाट १५/२० हजार रुपैयाँ कमाई हुन्थ्यो। बर्ड फ्लु लागे सबै झ्वाम्। फेरी सुरक्षा पनि छैन,' मोहनले कथा सुनाए, 'यति कमाईले के गर्नु, छोराको स्कुल फि र यताउती गर्दैमा सकिन्थ्यो। बरु दुइ-चार बर्ष अलि कष्ट गरौं पछि सुख पाइएला भनेर यता हानिएको।'
ब्राजिलसम्म जाने निर्णय लिएपछि उनले दिलीपलाई पाँच लाख रुपैयाँ बुझाए। गत असार १३ गते ११ः१५ को कतार एयरवेजको उडानमा अन्य चार जना साथी सहित उनी ब्राजिल तर्फ उडेका थिए। बिना भिसा खाली राहदानी, ब्राजिलसम्मको मात्र हवाई टिकट लिएका उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सजिलै पार गरे। खाली राहदानीमा ब्राजिल जान लागेको बताउँदा अध्यागमनका कर्मचारीले थप कुनै प्रश्न नगरी आँखा सनकले अघि बढ्न संकेत दिएका थिए।
कतारको दोहा ट्रान्जिट थियो। झण्डै चार घण्टा ट्रान्जिटमा बिताउनु पर्योि। 'खोइ त ब्राजिलको भिसा?' अध्यागमनका कर्मचारीले सोधेका थिए। 'यस्तो प्रश्न सोध्न सक्छन् भनेर काठमाडौंमै हामीलाई सिकाइएको थियो। सोही अनुसार हामीले बोलिभिया जान भिसा नलाग्ने बतायौं। तर हामी ब्राजिल जाँदै थियौं,' मोहनले बताए। बोलिभियाले नेपालीलाई अनएराइवल भिसा दिने भएकोले दलालले उनीहरुलाई त्यस्तो भन्न सिकाएका थिए। ब्राजिलले भने साधरण नेपाली राहदानी बाहकलाई अनएराइवल भिसा दिंदैन। ट्रान्जिटमा पाँच मिनेट जति केरकार भएपछि दोहाबाट उम्कन उनीहरु सफल भए।
दोहाबाट झण्डै साढे १४ घण्टा लामो उडानपछि उनीहरु ब्राजिलको साओपाओलो पुगेका थिए। त्यहाँ २१ घण्टा ट्रान्जिट थियो। त्यहीं बोलिभियाको कोचोबान्वा जाने टिकट उनीहरुको हात पर्योग। त्यहाँ उनीहरुले बोलिभियको भिसा लगाए। भिसा लगाए लगत्तै उनीहरु बोलिभियाको राजधानी लापाज गएका थिए, जहाँ ब्राजिलको दूतावास थियो। साओपाओलोबाट लापाज पुग्न झण्डै चार घण्टा लाग्यो। चार दिन लापाजमा बसेपछि बल्ल ब्राजिलको भिसा लाग्यो। त्यसपछि उनीहरु जहाजमै साओपाओलो फर्किए।
'तीन महिना हामीले ब्राजिलमै काम गर्यौं,' मोहनले सुनाए, 'मासिक ४ सय ५० अमेरिकी डलर पाइन्थ्यो। काम चाहीं कपडा पसल, रेष्टुरेन्टमा हो।'
स्पेनिस वा पोर्चुगिस भाषा जान्नेले भने ब्राजिलमा राम्रै कमाई गर्ने उनी बताउँछन्। प्लस टु पास गरेका मोहनलाई सामान्य अंग्रेजी आउथ्यो, त्यसैले गर्दा पनि ब्राजिलमा तीन महिना टिक्न सघायो उनलाई। ब्राजिलमा पुगेपछि मात्र उनले थाहा पाए त्यहाँ त थुप्रै नेपाली अमेरिका जाने सपनामा पुगेका रहेछन्। त्यहाँ भेटिएका धेरै नेपाली, बंगाली, भारतीयहरु अमेरिका जाने भन्दै थिए। उनलाई पनि जोश चल्यो। आँफुसँगै तनहुँबाट ब्राजिलपुगेका चार मध्ये तीन साथी अमेरिका जान तयार भए।
मोहनले पनि घरमा फोन गरी सल्लाह गरे। 'त्यहाँभन्दा अमेरिकामा राम्रो कमाई हुन्छ भने जा। पैसा हामी खोजेर पठाइदिउँला,' परिवारले सुझाव दिए। उनीहरुसँग बोलिभियाको भिसा पहिलै थियो। ब्राजिल पुगेको तीन महिनापछि उनीहरु फेरी अमेरिका जाने धुनमा बोलिभिया पुगे, त्यहाँ अमेरिका लैजान तयार थिए एक भारतीय एजेन्ट। झण्डै ५१ घण्टा बसको यात्रापछि उनीहरु बोलिभियाको लापाज पुगे। १० दिन जति उनीहरु लापाजमै बसे। त्यसपछि सुरु भयो उनीहरुको पेरु, इक्वेडर, कोलम्बीया, पानामा, कोस्टारिका, निकारागुवा, साल्भाडोर, होन्डुरस, ग्वाटेमाला, मेक्सिकोहुँदै अमेरिका छिर्ने वास्तविक यात्रा।
८८८८८
ब्राजिलबाट बोलिभिया जाँदा दलाललाई उनीहरुले कूल ९ सय अमेरिकी डलर पुझाएका थिए। बोलिभियाबाट जानुपर्थ्यो पेरु। बोलिभियाबाट पेरु प्रस्थान गर्नु अगावै बुझाउनु पनेर्को आधा रकम ४ सय अमेरिकी डलर भारतीय दलाललाई बुझाए। त्यसपछि उनीहरुलाई आँफुसँग रहेका राहदानी लगायत सम्पूर्ण कागजात च्यातेर फ्याँक्न भनियो, उनीहरुले त्यसै गरे। अवैध तरिकाले अमेरिका छिर्ने बैधानिकता त्यसपछि उनीहरुलाई प्राप्त भयो।
'परिचय खुल्ने चिज आफ्नो साथमा नराख्नु, च्यातेर फाल्नु भने। हामीले त्यसै गर्यौंा,' मोहनले भने, 'परिचय खुल्ने चिज मात्र होइन, साथमा क्यामरा र मोबाइल फोन बोक्न सख्त मनाई छ। यी सबै चिज ज्यानको लागि खतरा हुन् रे।'
लापाजबाट तीन घण्टा बसको यात्रा पछि मोहन र उनका साथी पेरुको सिमा पुगे। पेरु भित्र प्रवेस गराएर बाँकी चार सय अमेरिकी डलर लिई भारतीय दलाल फिर्ता भए। अब उनीहरुको जिम्मेवारी लिएका थिए पेरुका स्थानीय दलालले। उनको काम भनेको पेरुको सिमा कटाई इक्वेडर पुर्यााएर अर्को स्थानिय दलालको जिम्मा लगाउनु हो। पेरु छिरेपछि लगातार गाडिमा हिडेको भए दुई दिनमा उनीहरु इक्वेडर प्रवेस गर्ने थिए। तर, उनीहरुलाई राजधानी लिमामा तीन दिन राखियो। मोहनका साथमा नेपाली मात्र होइन भारतीय, बंगलादेशी, श्रीलंकनहरु पनि थिए। उनीहरु पनि अमेरिका जान हिडेका।
'यात्रा गर्दा एउटा गाडीमा एउटा देशको तीन जनाभन्दा बढि राखेनन्। बढिमा तीन जना दलाल हामीसँगै हुन्थे। हाम्रो समुहमा बिभिन्न देशका गरी ३५ जना जति थियौं,' मोहनले जानकारी दिए। पेरु छिरेको पाँच दिनपछि उनीहरु इक्वेडर प्रवेस गरेका थिए। लिमासम्म बसमा र त्यहाँबाट पेरुको सिमासम्म ट्याक्सीमा कोचेर लगियो। 'इक्वेडरसम्म खासै दुःख पाइएन। बाटोमा कुखुराको मासु, रोटी, भात खान दिंदा रहेछन्,' उनले भने।
इक्वेडरबाट कोलम्बिया प्रवेस गर्न उनीहरुलाई डेढ दिन लाग्यो। सम्पूर्ण यात्रा बसमा। खाने-सुत्ने पनि बसमै। लामो रुट पर्यो भने बसमै सुत्न पर्र्थ्यो । छोटो रुटमा भने स्थानिय होटलमा लुकाएर राखिन्थ्यो। कति ठाउँमा त दलालले आफ्नै घरम लगेर पनि राखे।बाटोमा जब दुई देशबीचको सिमा आइपुग्थ्यो उनीहरुलाई लुकेर सिमा पार गर्न सिकाइन्थ्यो। सिमा पार गर्दा चलनचल्तीको बाटो प्रयोग नगरी चोरबाटो लगिन्थ्यो। लुकेर छिर्ने तर अफ्ठेरो भने पर्दैन्थ्यो। अन्य सडक भने चलनचल्किै प्रयोग हुन्थे।
'कोलम्बीया नपुन्जेलसम्म कतै पनि चेक नहुने रहेछ,' मोहनले सुनाए। कोलम्बीया भित्र बसै बसमा हिड्दा दुई ठाउँमा उनीहरु प्रहरी जाँचमा परे। तर, प्रहरी भने अभ्यस्त भइसकेका। पक्राउ गरेपछि सिधै पैसा माग्ने। प्रहरीले प्रत्येकसँग एक सय अमेरिकी डलर माग्ने रहेछन। एकछिनको बार्गेनिङपछि रेट ५० अमेरिकी डलरमा झर्योय। कोलम्बीयाको दुई ठाउँमा चेक हुँदा मोहनले ५०/५० अमेरिकी डलर बुझाएर छुटेको सुनाए। कोलम्बीया पार गर्न उनीहरुलाई गाडीमा चार दिन लाग्यो।
कोलम्बिया सिमा पार गरेपछि साथीहरुका साथ मोहन पुगे पानामा। एक दिन त १२ घण्टा लगातार घना जङ्गल भित्र पैदल हिडाईयो। बाक्लो जङ्गल अनि चोर बाटो, साथमा जम्मा ९ जना। १२ घण्टा लगाएर जङ्गल छिचोल्ने वित्तिकै पुगियो सैनिक क्याम्प। उनीहरुलाई पहिल्यै सिकाइएको थियो सैैनिक क्याम्प पुग्ने वित्तिकै हात उठाएर आत्मसमर्पण गर्न। उनीहरुले त्यसै गरे। सेनाले पालै पालो शिविर भित्र हुँदै अध्यागमन लगे।
'सेनाले कुट्लान् की भनेको त झन् स्वास्थ्य जाँच गरेर पठाउने रहेछन्,' यात्रा अवधिमा सबैभन्दा आश्चर्यलाग्दो दृश्यको रुपमा मोहनले बयान गरे, 'मासु-भात खुवाएर पठाए। ससुराली गएजस्तो पो भो।'
बाटोमा कुनै व्यवधान आईनपरे पानामा पार गर्न दुई दिन लाग्छ। तर, पानामामा ५ देखि १५ दिनसम्म बस्नुपर्ने हुन्छ रे। यसकारण अघिपछि गरी हिंडेका धेरै साथीहरुसँग पानामामा भेट हुनेगर्छ।
क्याम्प भित्र लग्ने वित्तिकै सेनाले स्वास्थ्य जाँच गर्ने रहेछ। कोही गम्भीर भेटिए अस्पताल भर्ना गरी उपचार समेत गर्ने रहेछन्। कसैले भारतीय भएको परिचय दिएभने डिपोर्ट (फिर्ता) गरिदिन्छन् रे। अमेरिका जान हिडेका ३७ जना भारतीय पानामा जेलमा परेको उनले बताए। नेपालीहरु उपचारका क्रममा २७ दिनसम्म सैनिक क्याम्पमा बसेको कथा पनि उनले त्यहाँ सुन्न पाए। मोहन र उनका साथी क्याम्पमा १३ दिन बस्नु पर्यो।
स्वास्थ्य जाँच गर्दा सेनाले राहदानी माग्छ। 'छैन' भनेपछि सेनाले फाराम थमाउँछ। त्यसपछि कहाँ जाने भनेर सेनाले सोध्ने गर्छन्। 'अमेरिका' भनेपछि सेनाले फेरी 'कागजात' भनी सोध्ने गर्छ रे। जवाफ उही हो 'छैन'। त्यसपछि यहीं बस्छस् की अघि बढ्छस् भनि सोधिन्छ। अघि बढ्ने जवाफ दिएपछि सेनाले 'कन्ट्री लिभ' कागज थमाउँछ। अनि, पानामा छोड्नु पर्छ। हिड्न सक्ने अवस्थामा छ भन्ने लागेपछि सेनाले अघि जान छोडिदिने बुझाई मोहनको छ। 'सेनाको क्याम्प नजिकै कम्मर कम्मर आउने खोला रहेछ। उनीहरुले हामीलाई खोला तारेर छोडिदिए,' उनले भने।
कोलम्बीया सिमा पार गर लगत्तै पर्छ घना जङ्गल र जङ्गल पछि सेनाको क्याम्प। क्याम्प कटेपछि गाडी चढेर कोस्टारिका तर्फ। २० घण्टा गाडी यात्रापछि पुगिन्छ कोस्टारिकाको वोर्डर। बाटोमा समूह-समूह बनाइ लगिन्छ। अघिल्लो समूहले पछिल्लो समूहका आफ्ना साथीलाई बाटो र अवस्थाको बारेमा जानकारी गराउँछन्। एउटा निश्चित सहरमा पुगेपछि मात्र फोन र इन्टरनेटको प्रयोग गर्न दिईन्छ। त्यहींबाट पछि रहेका साथी र घर परीवारसँग कुरा गर्ने हो। बाटोमा मोबाइल बोकेको दलालले थाहा पाए ज्यान जोखिममा। जे पनि हुनसक्छ। फोन 'ट्रयास' गर्लान भन्ने दलाललाई डर।
पक्राउ पर्ने डर सबैभन्दा बढि कोस्टारिकामा हुन्छ। तर पक्राउ परेपछि केही बेरमै छुटिन्छ रे। गत अगस्टमा मात्र दुई पटक गरी विदेशी सहित ९ जना नेपाली त्यहाँ पक्राउ परेका थिए। मोहनका अनुसार उनीहरु सबै त्यहाँबाट छुटी अमेरिकाको न्यूयोर्क पुगी सकेका छन्। अमेरिका पुगेका उनीहरुसँग आफ्नो फोन सम्पर्क भइरहेको मोहनले बताए। 'पक्राउ परियो भने २० अमेरिकी डलर बुझाए पछि चार घण्टा भित्र छोडिदिने रहेछ,' उनले भने।
मोहनका अनुसार पक्राउ परेकालाई स्थानिय प्रहरीले औंठा छाप लगाई दुई वटा कागज थमाउँछ - सालीदा (एक्जीट) र शरणार्थी दाबी गर्ने कागज। शरणार्थी कागज लिए त्यहीं बसेर मुद्दा लड्नु पर्छ। तर, पक्राउ परेका सबैले सालीदा पेपर बुझ्ने गर्छन् , जहाँ 'एक साता भित्र' कोस्टारिका छाडिसक्न भनिएको हुन्छ। कागजमा तोकेको समयभित्र देश नछाडे फेरी समय थप्न सकिन्छ। सबै यसरी नै उम्किने गर्छन्।
मोहन र उनका साथीलाई दलालले एक दिनमै कोस्टारिकाको सिमा कटाई निकारागुवा पुर्याैएको थियो। ९ घण्टा जति गाडीको यात्रा गरेपछि निकारागुवाको सिमा काटी साल्भाडोर र एक दिनको यात्रापछि होण्डुरस पुगिन्छ। होण्डुरसबाट ग्वाटेमाला पुग्न पनि एक दिनको समय। निकारागुवा, साल्भाडोर र ग्वाटेमालामा खासै चेक नहुने ठम्याई उनको छ। 'लगातार एक देश पार गर्ने वित्तिकै अर्को देश लग्दा रहेनछन्। बाटोको सुरक्षा जाँचको अवस्था बुझेपछि मात्र अघि बढाउँदै लग्ने रहेछन्। चेक जाँच कडा छ भन्ने थाहा पाए नजिकको सहरमा लगि होटलमा राख्ने,' मोहनले अनुभव सुनाए।
ग्वाटेमालासम्म पुग्दा कतैपनि समुद्रको बाटो भने हिड्न नपरेको उनले बताए। तर कति साथीहरुले समुन्द्रको बाटो र जङ्गलै जङ्गल हिडाएको अनुभव सुनाएको मोहनले जनाए। कुन र कस्तो बाटो लग्ने भन्ने दलाल अनुसार फरक पर्ने उनी बताउँछन्। ब्राजिल र बोलिभियामा चिनेका ६० जना जति नेपाली अमेरिका पुगि सकेको दाबी उनको थियो।

८८८८८
'अहिले मेक्सिकोको सिमा नजिक रहेको चेला भन्ने ठाउँमा छौं,' मोहनले भने, 'पैसाको कारण रोकिएको।'
मेक्सिको बोर्डर प्रवेस गरे लगत्तै उनीहरुलाई तीन हजार अमेरिकी डलर दलाललाई बुझाउनु पर्छ, जुन उनीहरुसँग छैन। परिवारले केही दिन भित्रै काठमाडौंबाट पठाउनेमा उनी ढुक्क छन्। बाँकी तीन हजार अमेरिकी डलर भने अमेरिका प्रवेस गरेपछि दलाललाई बुझाउनु पर्छ। अमेरिका भित्रैसम्म दलाल उनीसँग जान्छन्। यो मार्गम सबैभन्दा ठूलो देश मेक्सिको भएको कारण पैसा बढि लागेको बुझाई उनको छ। मेक्सिको एउटा देश पार गर्न मात्र दलालले ६ हजार अमेरिकी डलर लिने गर्छन्।
क्रिसमस र नयाँबर्ष २०१३ नजिकिएका कारण पैसा आइहाले पनि अमेरिका तर्फ अघि बढ्ने मोहनको चाह तत्काल पुरा हुने थिएन। कम्तीमा पनि नयाँ बर्ष उनले मेक्सिको सिमा नजिक बिताउनु पर्नेछ। नयाँबर्ष लाग्ने वित्तिकै उनी मेक्सिकोको सिमा बजार तापाचुला प्रवेस गर्ने योजनामा छन्। मेक्सिको छिरेको ६ दिनमा अमेरिका। 'मेक्सिको - अमेरिका सिमामा पक्राउ परे अध्यागमनलाई धरौटी बुझाएर निस्कन पाईन्छ' मोहनलाई दलालले आश्वासन दिएको छ। मोहनका मामाका छोरा (सोल्टी) अमेरिकामा छन्। मेक्सिको सिमा पार गर्ने वित्तिकै तिनै सोल्टी स्वागत गर्न आउने सपना उनले देखेका छन्।
यति ठूलो रकम खर्च गरेर किन अमेरिका, नेपालमै केही गर्न सकिदैनथ्यो? जिज्ञासामा उनले भने, 'नेपालमै काम गर्छुभन्दा बाउआमाले समेत पैसा दिंदैनन्। विदेश जान्छु भन्दा ऋण खोज्न समेत हिड्छन्। बाध्यता छ पुरुषलाई।'
अमेरिका जान भनि हिड्दा जति पनि खर्च भएको सबै ऋण नै हो। छोराले आँफुले जस्तो दुःख नपाओस् भनेर यस्तो कष्ट उठाएको उनी सुनाउँछन्। लामो समय अमेरिका बस्ने उनको सोच छैन। ६ बर्षजति अमेरिका बसेर ग्रिन कार्ड लिएपछि नेपाल फर्कने उनको योजना छ। अहिल्यै उनलाई नेपालमा रहेका परिवार कहिले भेटु भएको छ। 'परिवारको न्यास्रो त लागिहाल्छ। पहिला २० लाख जति ऋण छ त्यो तिरौं, त्यसपछि ग्रिन कार्ड लिएर नेपाल फर्कनु पर्छ,' मोहनले बताए।

Similar Documents